Breaking News

समानुपातिक मतपत्र तयार, प्रत्यक्षतर्फको छाप्न सुरु






निर्धारित मितिमै चुनाव हुन्छ, ढुक्क हुनुस् : प्रमुख निर्वाचन आयुक्त

कार्तिक १०, २०७४-आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक चुनाव प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले शुक्रबारदेखि नै प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य सुरु भएको जनाएको छ । आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जानकारी दिएको छ । 

निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपत्रबारे सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुने प्रतिबद्धता जनाएका छन् । ‘समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजै (शुक्रबार) देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ,’ आयोगद्वारा सञ्चालन गरिने ‘निर्वाचन र सुरक्षा’ विषयक दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले भने । 

 व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, दलहरूको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोग तयार भएको र त्यसअनुरूप सबै काम अघि बढेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । ‘चुनावबारे आलोचना, प्रतिआलोचना र विभिन्न अनुमानको कुरा आइरहेको छ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कहींकतैबाट नहोस्, निर्धारित मितिमै चुनाव गर्न आयोग प्रतिबद्ध छ ।’ पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन र चुनाव चिह्न प्रदान भई प्रचारप्रसारको काम सुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको, दोस्रो चरणको लागिसमेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएकाले चुनाव हुनेमा कुनै अन्योल नरहेको उनले बताए । तोकिएकै मितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक प्रतिबद्धता गरिरहेको उल्लेख गर्दै यादवले सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिए । 

 उनले अदालतको पछिल्लो आदेश औपचारिक रूपमा आयोगमा प्राप्त भइनसकेको बताए । उनले पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सराहनीय रहेको उल्लेख गर्दै चुनावका समयमा हुन सक्ने लोभ, लालच, डर–धम्कीजस्ता क्रियाकलाप रोक्न तथा आचारसंहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए । 

 निर्वाचन आयुक्त सुधीरकुमार शाहले अहिलेको राष्ट्रिय लक्ष्य नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयनका लागि मजबुत जग स्थापना गर्नु रहेको बताए । चुनावमा भारतीय गाडी प्रयोग गर्न रोक आयोगले निर्वाचन प्रचारप्रसारमा भारतीय गाडी प्रयोगमा रोक लगाएको छ । छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारीसाधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरूपमा नियन्त्रण गर्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिएको छ । ‘चुनाव प्रचारप्रसारमा छिमेकी मुलुकबाट भाडामा ल्याइएका गाडी प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिएको छ,’ आयुक्त शाहले भने, ‘चुनावका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’ 

 कार्यक्रममा गृह सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुरा तल्लो तहसम्म पुुर्‍याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए । निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन र सुरक्षा एकअर्काका पूरकका रूपमा रहने भएकाले निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच निरन्तर सञ्चार, समन्वय र सहकार्य हुनुपर्ने औंल्याए । प्रशिक्षण कार्यक्रममा रक्षा तथा गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी छन् । 


 प्रकाशित: कार्तिक १०, २०७४