Breaking News

बिर्तामोडमा कर्फ्यु जारी, प्रशासन, दल र पीडितबीच छलफल जारी " भिडियो खबर "



























कार्तिक ११, २०७४-प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी छ । झापाको बिर्तामोडमा कर्फ्युको समयमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

मृत्यु भएपछि झन् हिंसा भड्कन सक्ने भन्दै प्रशासन कार्यालयले आज पनि कर्फ्यु जारी गरेको हो । झापाको अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिका कारण जिल्ला प्रशासन झापाले शुक्रबार दिउँसो साढे १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनको कर्फ्यु आदेशपछि बिर्तामोड क्षेत्र ठप्प छ । 

पूर्व-पश्चिम राजमार्ग पनि ठप्प छ । एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी सडकमा गुडेको छैन । बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । घटनापछि गृहमन्त्रालयले बनाएको छानविन समितिले शनिबारबाटै काम थाल्ने जनाइएको छ । बालकको हत्या भएको दाबी गर्ने परिवार र स्थानीयवासीले शुक्रबार बिर्तामोडमा प्रहरीविरुद्ध प्रदर्शन गरेपछि घटना जटिल बनेको हो । 

घटनामा अर्जुनधारा-११ का नरेश थापा मगरको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । घटनामा दानावारी इलामका ३५ वर्षीय मणि नेपाली गम्भीर घाइते छन् । उनको पेट, हात र पिठ्युँमा गोली लागेको छ । बीएण्डसी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । राजगढ-८ का १८ वर्षीय सुनिल पाण्डे, अर्जुनधारा-६ का ३५ वर्षीय पूर्ण लुइटेल, मेचीनगर-९ का ३० वर्षीय अशोक बस्नेत र दुर्गापुर-५ का २२ वर्षीय नवराज कोइराला घाइते छन् । 

उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले वालक हत्या घटनालाई ढाकछोप गर्न खोजेको पीडित पक्षको आरोप छ । दसैंको टीकाको दिन बेपत्ता अर्जुनधारा– ११ का शिवाकोटीको शव भोलिपल्ट बिर्तामोड– १ बैसावाडीस्थित झाडीमा फेला परेको थियो । बिर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद सिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्दै थियो । 

 घटनालाई सामान्य बनाउन राजनीतिक दलका प्रतिनिधि, प्रशासन र पीडित पक्षबीच बिर्तामोडमा छलफल सुरु भएको छ । मृतक तथा पीडित परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाही गरिनु पर्ने, मृतक र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग अघि सारेका छन् । छलफलमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, एसपी विष्णु केसी, पूर्व सांसद प्रेम गिरी, बिर्तामोडका मेयर ध्रुव सिवाकोटीलगायत छन् । 


 प्रकाशित: कार्तिक ११, २०७४