[अपडेट] त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो
घाइते यात्रु भन्छन्– चालकले मदिरा पिएका थिए
एकै परिवारका ६ जनाको मृत्यु, २९ जनाको सनाखत
कार्तिक ११, २०७४-मशनिबार बिहान गजुरी–५ बांगेमोडमा यात्रुबाहक बस त्रिशुलीमा खस्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३० जनाको शव निकालिएको छ । मृत्यु हुनेहरुमा धेरै बालबालिकाहरु छन् ।
तिमध्ये २९ जनाको सनाखत भएको छ ।
सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुर र घाइते भएका निजका छोरा १२ वर्षीय मनिष ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् ।
‘मसहित पत्नी र छोरा मनिष सबैभन्दा पछाडीको सिटमा थियौ । म कसरी निस्किए , थाहै भएन । पत्नी र छोरा जोगाउनै सकिनँ’, बिहार मोतिहारी निवासी मृतक ममतादेवीका घाइते श्रीमान मनोज ठाकुरले बताए ।
मृत्यु हुनेहरुमा सिमीकुमारी झा, राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, पार्वती चौधरी, आदित्य यादव, सञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।
मत्यु हुनेहरुमा अधिकांश सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका हुन् । तिलाठीका पण्डित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परी ज्यान गुमाएको छ । २ छोरा, बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको हो ।
रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, सञ्जितकी पत्नी सिमी झा र सञ्जितका छोरा अभिनव झाको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए । सञ्जितका कान्छा छोरा प्रतीक बेपता छन् ।
यस्तै, सञ्जितका सालो बिटु झा, ठूली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजा अझै बेपता छिन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा कार्यरत थिए ।
बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा बेपत्ताको संख्या थाहा हुन सकेको छैन् । मृत्यु हुनेमा सप्तरी देउराली नपा १५ का १८ वर्षीय सहचालक नरेश मुखिया पनि छन् ।
हिजो शुक्रबार राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६६ नम्बरको सन्देश ट्राभल्सको रात्रिबसले १७ यात्रु बोकेर हेटौंडा आएको थियो । राजविराजबाट आएको उक्त बसले काठमाडौंबाट गएको सोही कम्पनीको १४६७ नम्बरको बसलाई यात्रु जिम्मा लगाई फर्केको थियो । हेटौंडाबाट धेरै यात्रु राखेर काठमाडौंका लागि हिंडेको बसको गति तीव्र भएका घाइते यात्रु सिद्धार्थ यादवले बताए ।
४ छोरा गुमाएका सप्तरीका दुर्गानन्द यादव । उनको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
क्याविनमा बसेका आएका श्रवण ठाकुरका अनुसार चन्द्रनिगाहपुरको लालगढमा खाना खानेबेला चालक सन्तोष चौधरीले मदिरा पिएको र नारायणगढ–मुग्लिन सडकको कच्ची सडकमा पनि निकै स्पिडमा गाडी कुदाएका थिए । गाडी मोड्नुको साटो सिधै २ वटा जाली लगाएको पर्खाल भत्काएर गाडी त्रिशुलीमा खसेको उनले बताए । उनले बस ठोक्किएपछि सीसा फुटेर आफूहरु पानीमै खसेको बताए ।
बस खस्ना साथ घटनास्थलको २ सयमिटर पर पोखरेमा रहेका युवाले देखेपछि स्थानीय आशिष अधिकारी, छत्रवहादुर महरलगायतले डुव्दै गरेको बसवाट १६ जना यात्रुहरु निकालेका थिए । उद्दार गरिएकामध्ये दुर्गानन्द चौधरी र उनका छोरा आशिष चौधरी लाई थप उपचारका लागि काठमाडौं पठाई अन्य १४ लाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र निजी अस्पतालमा पठाइएको थियो ।
‘आमालाई तान्न सकेनौं’
पौडी खेलेर बचेका सप्तरीका निविदिता र शुभम चौधरी गजुरी अस्पतालमा उपचार गराउँदैं । उनीहरुका आमा प्रभाको मृत्यु भएको छ । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर
निमिदिता चौधरी, वर्ष १३, सप्तरी, सिग्रही
हामी आमासँगै बी साइडको ११ र १२ नम्बर सिटमा थियौं । बाबा कतारमा काम गर्नु हुन्छ । भाई शुभम चौधरी र म निदाएका थियौं । एक्कासी आवाज आयो, हामी खसेको पनि पत्तो भएन । नजिकै भाईलाई देखें । उनी पानीमा पौडीरहेका थिए । अनि, भाई र म संगै पौडी खेल्दै किनार पुग्यौं । हामीलाई प्रहरीले अस्पताल ल्यायो ।
प्रकाशित: कार्तिक ११, २०७४
