Breaking News

यति खोज्न जाने अमेरिकीलाई दूतावासले स्मरण गराएको तीन नियम, ५८ वर्ष पुरानो कागजात
















अहिले उति कुरा हुँदैन। त्यतिबेला यतिको कुरा खुब हुन्थ्यो। यति अर्थात् हिम मानव। यति छ कि छैन भन्ने बारेमा ठूलै बहस भएको छ। ५८ वर्षअघि पनि यति खोज्न निकै चासो हुन्थ्यो। त्यतिबेला यति खोज्न नेपाल आउने माउन्टेनियरिङ र साइन्टिफिक एक्सपिडिसनका लागि नेपाल सरकारले तीन वटा नियम राखेको थियो।
सन् १९५९ को नोभेम्बर ३० तारिखमा काठमाडौँस्थित अमेरिकी दूतावासले यति खोज्न नेपाल आउनेहरुलाई यो स्मरण गराउँदै अमेरिकाको विदेश मन्त्रालयलाई लेखेको पत्र अहिले सार्वजनिक गरिएको छ। के थियो त नियम? नियम रोचक छ। पहिलो नियममा यति खोज्नका लागि अनुमति लिन ५ हजार भारु रोयल्टी श्री ५ को सरकारलाई तिर्नुपर्ने उल्लेख छ। दोस्रो नियममा यदि यति भेटियो भने फोटो खिच्न वा जिउँदै समात्न पाइने तर मार्न र गोली हान्न नपाइने उल्लेख छ। 

अपवादका रुपमा आत्मरक्षाका लागि आपतकालीन अवस्था छुट्टै। फोटो खिचेको भए वा जिउँदै वा मारेर समातेको भए त्यसलाई तु नेपाल सरकारलाई बुझाउनु पर्ने पनि उल्लेख छ। तेस्रो नियममा यति छ भन्ने कुनै प्रमाण भेटिए पाउने बित्तिकै नेपाल सरकारलाई बुझाउनु पर्ने उल्लेख छ। नेपाल सरकारको अनुमति बिना प्रेस वा पत्रकारलाई यो सूचना दिन नहुने पनि उल्लेख छ।